काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
स्पेनमा मानव तस्करीमा संलग्न भएको आरोपमा प्रधानमन्त्री ओली लगायतमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै आइतबार देशभक्त नागरिक युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन्।
असार १० गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पेनमा इन्टरनेसनल कन्फेसन अन फाइनान्सिङ फर डेभलमेन्ट अफ नेसनल कार्यक्रममा गएका १० जना नेपाल नफर्किएको उक्त उजुरीमा दाबी गरिएको छ।
प्रधानमन्त्री सहभागी कार्यक्रममा जाने भनी नाम लिस्ट तयार हुनु, प्रधानमन्त्रीसँगै कार्यक्रममा जानु र कार्यक्रम सकिएपछि उनीहरू नेपाल नफर्किनु तस्करी नै भएको अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ।
“प्रधानमन्त्रीको नेतृत्वमा भएको कार्यक्रममा १० जना मानव तस्करी भएको प्रकरणमा यसको नैतिक लगायत सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीज्यूले नै लिनुपर्ने र उहाँले नैतिकताको आधारमा तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिएर मानव तस्करी प्रकरणमा उहाँमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही समेत गर्नुपर्ने देखिन्छ । जसरी कोशी प्रदेशका तत्कालीन आन्तरिक तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा पक्राउ गरी अनुसन्धान गरिएको थियो । सोही नजिरको आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई तत्काल पक्राउ गरी कारबाही गर्नु आवश्यक देखिन्छ,” युवारज सफलद्धारा अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीजस्तो व्यक्ति मानव तस्करीमा मुछिनु, प्रधानमन्त्रीको नाम मानव तस्करीमा जोडिनु भनेको नेपालको स्वाभिमानमा समेत चोट पर्ने कुरा भएको उजुरीकर्ताको दाबी छ ।
हेर्नुहोस् प्रधानमन्त्री ओलीसहितलाई कारबाहीको माग गर्दै अख्तियारमा दर्ता भएको उजुरीको पूर्णपाठः
