काठमाडौं । जनेजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंशलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेनन्द्र शाह (बालेन), पूर्वमन्त्री सुमना श्रेष्ठ, जेनजी अगुवा सुदन गुरुङ, युटुबर भाग्य न्यौपानेदेखि अभिनेता निश्चतल बस्नेतसहित २७ जनाविरुद्ध उजुरी दर्ता भएको छ । अनुप उप्रेती र राजन चेम्जोङ नामक व्यक्तिले प्रहरीमा जाहेरी दिएका हुन् ।
किटानी जाहेरी परेका अन्य व्यक्तिहरूमा पूर्व सांसद सुमना श्रेष्ठ, रास्वपा नेतृ ज्वाला संग्रौला, जेन–जी अभियन्ताहरू मिराज ढुंगाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, केपी खनाल, तनुजा पाण्डे, युजन राज भण्डारी, रामकुमार खड्का, कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, हिमेश पन्त, रिमा विश्वकर्मा, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार, युट्युबर भोजराज थापा, टिकटकर मनोज केसीलगायत छन्।
उजुरी दिनेले प्रमाणको आरोपितहरुले विभिन्न स्थानमा जलाउन, तोडफोड गराउन उक्साएको भन्दै विभिन्न मिडिया, सामाजिक सञ्जालमा आएका फोटा र भिडियोहरु प्रमाणका रुपमा पनि पेश गरेको जनाइएको छ ।
आरोपितहरुविरुद्ध राज्यविरुद्धको कसुर आतंकवादविरुद्धको कसुर, हातहतियार खरखजनाविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुर लगायतमा अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।
