काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालको आर्थिक अवस्थाका साथै आसन्न लगानी सम्मेलन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए । उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवम् लगानी योग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिए ।
भेटमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकल रणनीति तय गर्ने बताएको जनाइएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटा एवम् एडिबीको नेपालस्थित उच्च अधिकारीको पनि सहभागीता रहेको थियो ।
