काठमाडौं । जेनजी युनाइटेड ले भदौ २३ र २४ गते सम्पन्न नागरिक क्रान्तिको क्रममा र त्यसपछिको जटिल अवस्थाको सफल व्यवस्थापनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानसेनापति आशोक सिग्देललाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
संगठनका केन्द्रीय संयोजक किरण बिकले एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति सिग्देललाई धन्यवाद दिएका हुन् ।
“नेपाली सेनाले जनताको इच्छा र संविधानको मर्मअनुसार संयमपूर्वक काम गर्दै देशलाई संकटबाट जोगाएको छ। विशेषगरी प्रधानसेनापति अशोक सिग्देलज्यूले अन्योलताका बीच पनि नागरिक सर्वोच्चताको सिद्धान्त अनुरूप व्यक्तिगत सुझबुझ प्रयोग गरी अराजक अवस्थाको सहि ह्यान्डलिङ गर्नुभएको प्रशंसायोग्य छ,” संयोजक बिकद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वक्तव्यमा थप भनिएको छ कि प्रधानसेनापतिको विवेकपूर्ण कदमले तत्कालीन राजनीतिक संकट समाधानतर्फ अग्रसर गराएको र त्यसकै कारण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने वातावरण बनेको थियो । जुन घटनालाई जेनजी युनाइटेडले “लोकतान्त्रिक जिम्मेवारीको सर्वोत्तम उदाहरण” भनेर व्याख्या
गरेको छ ।
जेनजी युनाइटेडले नेपाली सेनालाई “जनताको आस्थाको धरोहर” भन्दै संविधान, शान्ति र स्थायित्वको पक्षमा निरन्तर भूमिका निर्वाह गर्न आग्रह गरेको छ। साथै संगठनले आगामी दिनमा पनि सेनाले लोकतान्त्रिक मूल्य र जनताको भावना अनुसार राष्ट्रको सुरक्षामा निरन्तर सन्तुलित र संवेदनशील भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
