काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले बन्धक मुक्त हुने दुई वर्षदेखिको आशा र सामूहि प्राथनाबीच विपीनको दुःखद निधनको हृदयविदारक मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छिन् ।
“यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरुमा गहिरो समवेदना व्यक्त गर्दछु,” प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।
विपीनको त्याग र बलिदानीलाई राष्ट्रले कहिल्यै नबिर्सिने भन्दै प्रधानमन्त्री कार्कीले यो वीरतापूर्ण कार्यले सधै उनलाई नेपाली गौरवको प्रतिकका रुपमा जिवीत राख्ने बताएकी छिन् । विपीन अन्तर्राष्ट्रिय द्धन्द्धको अमानवीय सिकार बन्न पुगेको उनले बताएकी छिन् ।
“सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्धन्द्धको अमानवीय सिकार बन्नु भएको छ । उहाँको निधनको यो खबरले हाम्रो दुई वर्षका सम्पूर्ण आशा र सपनाहरुलाई छिन्न भिन्न पारेको छ । उहाँको यो वीरतापूर्ण कार्य जिवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधै नेपाली गौरवको प्रतिकका रुपमा जिवीत राख्नेछ,” प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।
