काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार नरेफाँटबाट पक्राउ गरेको हो ।
गिरीसँग सोधपुछका क्रममा भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको तीन थान गोली लाजिम्पाटबाट लुकाइएको अवस्थामा फेला पारेको हो । उनको डेराबाट ३११–२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेका छन् । गिरीसँगको बयानको आधारमा थाप मगरसँग पनि गोली रहेको खुलेको हो ।
प्रहरीका अनुसार थापा मगरको काठमाडौं महानगरपालिका मालिका आनन्द भैरव मार्गस्थित रहेको डेरा कोठामा खानतलासी गर्दा ३११–२३ लेखिएको पेस्तोलको २ थान गोली, छालाको पेटी वेल्टको बक्कल एक सेट फेला पारी बरामद गरिएको छ ।
उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिई थप कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको जनाइएको छ ।
