काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको महाधिवेशन नियमित समयमा हुने बताएका छन् ।
पार्टीको भातृ संस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले महाधिवेशनको मागलाई सम्बोधन गर्दै जारी केन्द्रीय समितिको बैठकबाट नियमित महाधिवेशन गर्ने निर्णय जारी हुने बताए ।
उनले भने, “सबै कुरालाई एक ठाउँमा जोडेर चालू केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भातृ संस्थाका अधिवेशन सबै विषयलाई अघि राखेर पार्टी महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नु भएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सिमाभित्र जोडेर बृहत एकतामा जोड दिइनेछ ।”
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको अवस्था प्रतिकूल रहेको भन्दै कार्यवाहक सभापति खड्काले त्यसलाई अनुकूलमा बदल्न कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । संविधानमार्फत् नेपाली जनताको जिम्मामा आएको लोकतान्त्रिक प्रणाली शासनको मालिक नेपाली जनता हुने पद्धति स्थापित भएको घडीमा ठूलो ध्वंस बेहोर्नु परेको उनले बताए ।
