काठमाडौं । केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना पारित गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षमा आइतबार सिंहदरबारस्थित मन्त्रालयमा बसेको बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई स्वीकृत गरिएको उनले बताए । सुरक्षा निकायको भूमिका र जिम्मेवारी विभाजन, राजनीतिक गतिविधि, सिमा क्षेत्रमा हुनसक्ने घुसपैठ लगायतका लागि आवश्यक सुरक्षा योजना तयार भएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
त्यसैगरी निर्वाचनमा सेना परिचालनका लागि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रस्ताव भए अनुसार रक्षा मन्त्रालयमार्फत् राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।
९ मंसिरबाट लुम्बिनी प्रदेशबाट प्रदेश स्तरीय सुरक्षा गोष्ठि परिचालन गरिने भएको छ । हिंसा भड्काउने र जनतालाई आतंकीत पार्ने गतिविधिलाई निस्तेज गर्नका लागि कडाइका साथ कानूनी कारबाही अघि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
