काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जिन निकालेको छ ।
आजको खेलमा काठमाडौं गोर्खाजमाथि ५ विकेटको जित निकालेको हो । काठमाडूले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो ।
ब्याटिङततर्फ विराटनगरका लागि जर्ज मन्सेले ३६ रनको योगदान दिए भने मार्टिन गप्टीलले २५ रन बनाए । यस्तै नरेन भट्टले २४ रन जोड्दा कप्तान सन्दीप लामिछाने ९ रनमा नटआउट रहे ।
बलिङतर्फ काठमाण्डु गोर्खाजका शाहब आलमले २ विकेट चट्काए भने कप्तान करण केसी, सन्तोष यादव र इरासमले समान एक–एक विकेट लिए ।
यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १३४ रनको योगफल तयार गरेको थियो । काठमान्डुको लागि आदिल आलमले ३ पटक जीवनदान पाउँदै ४८ रनमा अविजित रहे। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै काठमाडौंका लागि वेन चार्लेसवर्थ ३२ रन बनाए भने सन्तोष यादवले २६ रन जोडे । विराटनगर किंग्सको लागि मर्चेन्ट डी लाङ्गेले २ विकेट लिँदा, शुभम सञ्जाने, सूर्या तामाङ र सन्दीप लामीछानेले १–१ विकेट लिए। विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।
काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।
आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको हो।
