काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसले महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयन नगरी निर्वाचनमा नजाने भएका छन् ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले निर्वाचन अगाडी नेपाली का्रंग्रेसले जसरी पनि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए ।
उनले भने, “एक, दुई, तीन अधिवेशन नगरीकन, नयाँ नेतृत्व नछानी नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन ।” पार्टीको जारी कार्य सम्पादन समितिको बैठकले जुनसुकै हालतमा पनि महाधिवेशन सम्पन्न गर्ने गरी गृहकार्य, कार्यतालिका बनाउनु पर्ने महामन्त्री थापाको भनाई रहेको छ ।
थापाले सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई नाममात्रको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताए ।
उनले भने, “पार्टी सभापतिले कार्यवाहक दिनु भएको छ तर कार्यवाहक दिँदैगर्दा पनि यो नाममात्रको कार्यवाहक छ । आज बैठकमा आउनु भएको छैन् बाँकी रहेको बैठक अरु बाँकी रहेको शक्ति सबै त्यहीबाट अध्यास भैरहेको छ । त्यसकारण सभापति जिलाई पनि मेरो आग्रह छ । म खुल्ला रुपमा यहीबाट आग्रह गर्छु, पार्टीको सर्वाेत्तम हितका बारेमा सबैभन्दा बढी चिन्ता गर्नुपर्ने पार्टीको सभापतिले हो ।”
उनले पार्टी सभापति देउवाले पार्टी कार्यालयमा आएर सबै मिलेर मंसिरमा अधिवेशन गर्नुहोस् भनेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
जारी केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक निर्णय गर्ने र सोही बमोजिम आगामी कदम कसरी चाल्ने भन्ने विषयमा त्यही निर्णबाट तय गरिने महामन्त्री थापाको भनाई रहेको छ ।
