काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४ स्थित सहिद पार्क नजिकैको जंगलमा एक जोडी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा दैलेखको ठाँटीकाँध गाउँपालिका– २ का धनसिंह थापाका छोरा १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा विन्द्रासैंनी नगरपालिका– ३ का महेन्द्र भण्डारीकी १९ वर्षीया छोरी सुनिता भण्डारी रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक एवम् निमित्त सूचना अधिकारी श्याम प्रकाश यादवले जानकारी दिए ।
सूचना अधिकारी यादवका अनुसार सुरेन्द्र र सुनिताले एक महिना अगाडी भागेर विवाह गरेको र त्यसपछि उनीहरु सुर्खेत आएर कोठा भाडामा लिएर सँगै बस्ने गरेको खुलेको छ । बुधवार बिहान भने विरेन्द्रनगरको सहिद पार्क नजिकैको जंगलमा दुवै जना एउटै रुखको हाँगामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भागेर विवाह गरेको भनिएपनि उनीहरुको सामाजिक परम्परा अनुसार भने विवाह नभएको बुझिएको छ ।
मृत अवस्थामा फेला परेका उनीहरुलाई घटनास्थलबाट प्रहरी टोलीले मुचुल्का उठाई शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको र हाल शव अस्पतालको शव गृहमा राखिएको छ । उनीहरुको शव भने भोली भोष्टमार्टम हुने उनले बताए ।
प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।
