काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८–३१ गते सम्म गर्ने प्रस्ताव पारित भएको छ।
कांग्रेस मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको उक्त प्रस्ताव पारित भएको हो। वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका कार्यवाहक सभापति खड्काले महाधिवेशनको कार्यतालिका नै प्रस्तुत गरेका हुन्।
जसअनुसार माघ ७ गतेभित्र क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली पठाउनुपर्ने, माघ १५ गतेभित्र केन्द्रले त्यसलाई स्वीकृत गर्नुपर्ने र माघ २९ गतेदेखि अधिवेशन सुरु गरिने कार्यतालिका रहेको छ।
चैत २१ गते गाउँ र वडा अधिवेशन, चैत २८ गते क्षेत्रीय अधिवेशन, वैशाख २ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने, दुई वा दुई भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा वैशाख ५ गते अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रदेश अधिवेशनमा वैशाख १० ११ र १२ गते गर्ने प्रस्ताव गरिएको छ।
