काठमाडौं । अमेरिकाले सैन्य आक्रमण गरिरहेको भेनेजुएलामा राष्ट्रपनि निकोलस मादुरोको अवस्था अज्ञात रहेको बताइएको छ ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले एक वक्तव्य जारी गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीको अवस्था अज्ञात रहेको जानकारी दिएकी हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर ल्याइएको दाबीपछि उपराष्ट्रपति रोड्रिगेजले यस्तो जानकारी दिएकी हुन् ।
सैन्य कर्मचारी र सर्वसाधारणको हत्या गर्ने आक्रमणपछि राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती कहाँ छन् भन्ने सरकारलाई थाहा नभएको उनले बताएकी छिन्।
आफ्नो पहिलो सार्वजनिक वक्तव्यमा रोड्रिगेजले अधिकारीहरूले राष्ट्रपति र प्रथम महिला जीवित छन् भन्ने पुष्टि गर्न माग गरिरहेको बताइन्। उनले आक्रमणको निन्दा गरेकी छिन् ।
उनले अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आह्वान गर्दै घटनालाई धेरै नागरिक र सैन्य मृत्यु भएको आक्रमणको रूपमा बताइन् ।
