काठमाडौं । विगत १० दिन देखि अनशनरत जेनजी अगुवा अजय सोडारीसँग वार्ता गर्न सरकारले ३ सदस्यीय वार्ता समिति गठन गरेको छ ।
आज प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको जानकारी दिएको हो ।
खनालको संयोजकत्वमा गठन भएको वार्ता समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव हेमराज अर्याल सदस्य छन् ।
जेनजी आन्दोलनका बन्दी रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार लगायतका विभिन्न मागहरु राखी विगत १० दिन देखि माइतीघरमा अनशन बसिरहेका सोडारीको स्वास्थ अवस्था जटिल बन्दै गएपछि हिजो वीर अस्पतालमा भर्ना गरिएको थियो । हाल उनी वीर अस्पतालमा उपचाररत छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले हिजो एक विज्ञप्ति जारी गर्दै अनशनरत सोडारीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र निजको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।

