काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी हुन् ।
“तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन यो सरकार आतुर रहेको व्यहोरा यस सम्मानित सदनमा जानकारी गराउन चाहन्छु,” कार्कीले भनिन् ।
आफू पदको लालसा लिएर प्रधानमन्त्री नभएको उनको भनाई रहेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशलाई संकटबाट बचाउन युवा पुस्ताको आग्रह तथा राजनीतिक दलहरु र राष्ट्रपतिसँगको छलफलको आधारमा आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको उनले बताइन् ।
“म कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएकी होइन् । बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई संकटबाट बचाउन परिवर्तनकामी युवा पुस्ताको आग्रह, राजनीतिक दलहरु र सम्माननीय राष्ट्रपतिज्यूसँगको छलफलका आधारमा विशेष परिस्थितिमा मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएकी हुँ,” कार्कीले भनिन् ।
