मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

टी–२० विश्वकप

एक खेल अगाबै विश्वकपबाट बाहिरियो नेपाल 

एक खेल अगाबै विश्वकपबाट बाहिरियो नेपाल 

समूह चरणको अन्तिम खेल बाँकी रहे पनि नेपालको सुपर ८ को यात्रा भने यहीँ टुंगिएको छ।

आइतबार, फागुन ३ २०८२
आइतबार, फागुन ३ २०८२
  • काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले सुपर एटमा स्थान सुरक्षित गरेको छ। समूह ‘सी’को खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले लगातार तेस्रो जितसहित ६ अंक जोड्दै एक खेल बाँकी छँदै अर्को चरणको टिकट काटेको हो।

    लगातार तेस्रो हार व्यहोरेको नेपाल भने सुपर ८ को दौडबाट बाहिरिएको छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार बेहोरेको थियो। यता, वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रन र इंग्ल्यान्डलाई ३० रनले हराएको थियो।

    भारतको वानखेडे स्टिेडिएममा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो। वेस्ट इन्डिजका लागि कप्तान शाइ होप ४४ बलमा ६१ रन जोड्दै अविजित रहे। शिमरोन हेटमायर ४६ रनमा नटआउट रहँदा ब्रान्डन किङले २२ रनको योगदान दिए। नेपालका लागि एकमात्र विकेट नन्दन यादवले लिए।

    पहिला ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। उनी टी–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि सुवास खकुरेलले सन् २०१४ को टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए।

    सोमपाल कामी २६ रनमा अविजित रहे। अन्य खेलाडीमध्ये लोकेश बमले १३, आसिफ शेखले ११, गुलशन झाले ११, रोहित पौडेलले ५, आरिफ शेखले २ र कुशल भुर्तेलले १ रन जोडे।

    वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले समान १–१ विकेट लिए। समूह चरणको अन्तिम खेल बाँकी रहे पनि नेपालको सुपर ८ को यात्रा भने यहीँ टुंगिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार