मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एप्स्टिन फाइल प्रकरण

प्रिन्स एन्ड्रयू पक्राउ, बेलायती राजदरबारमा हलचल

प्रिन्स एन्ड्रयू पक्राउ, बेलायती राजदरबारमा हलचल

एन्ड्रयु पक्राउ परेसँगै यो घटना बेलायती राजतन्त्रका लागि अर्को ठूलो धक्का बन्न सक्छ ? भन्ने आकलन समेत गर्न भैरहेको छ ।

बिहीबार , फागुन ७ २०८२
बिहीबार , फागुन ७ २०८२
  • काठमाडौं । बेलायती राजा चाल्र्सका कान्छा भाइ प्रिन्स एन्ड्रयू माउन्टबेटन–विन्डसर पक्राउ परेका छन् । 

    उनलाई सार्वजनिक पदमा दुर्व्यवहार गरेको आशंकामा बिहीबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती राजपरिवार फेरि एकपटक विवादको केन्द्रमा परेको छ।

    अमेरिकी सरकारले सार्वजनिक गरेको जेफ्री एप्स्टिन फाइलका आधारमा थोमस भ्याली पुलिसले यस महिनाको सुरुबाटै अनुसन्धान अगाडि बढाएको थियो। ती फाइलमा एन्ड्रयूले दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनलाई केही कागजात उपलब्ध गराएको आरोप उल्लेख छ।

    प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी वक्तव्यमा सार्वजनिक पदमा दुर्व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको पुष्टि गरेको छ। नोर्फोकबाट ६० वर्षीय उमेर समूहका एक व्यक्तिलाई पक्राउ गरी हिरासतमा राखिएको बताइएको छ, तर नाम भने सार्वजनिक गरिएको छैन।

    थेम्स भ्याली प्रहरीले यौन अपराधि जेफ्री एप्स्टिनसँग गोप्य जानकारी सेयर गरेको आरोपमा एन्ड्रयुलाई पक्राउ गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । एन्ड्रयूले एप्स्टिन सँगको सम्बन्धमा कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन् ।  

    पछिल्लो कागजात सार्वजनिक भएपछि भने उनले कुनै प्रतिक्रिया दिएका छैनन्। एप्स्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी पृष्ठका कागजात सार्वजनिक भएपछि राजतन्त्र विरोधी समूह रिपब्लिकले एन्ड्रयूविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

    प्रहरी र क्राउन अभियोजन सेवाले यस मुद्दामा छलफल भइरहेको जनाएका छन्। सार्वजनिक पदमा दुर्व्यवहार ‘सामान्य कानुन’ अन्तर्गत पर्ने जटिल प्रकृतिको अपराध भएको बताइएको छ।

    एन्ड्रयु पक्राउ परेसँगै यो घटना बेलायती राजतन्त्रका लागि अर्को ठूलो धक्का बन्न सक्छ ? भन्ने आकलन समेत गर्न भैरहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार