काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधिको विस्तारका निम्ती आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवपवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् ।
सातौं राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नवपवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए ।
उनले भने, “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ । यही यथार्थलाई आत्मसात् गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवपवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ती आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडी बढाइएको छ ।”
कोषको स्थापना सँगै आफ्नो स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अर्बाैंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहन हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जनाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने उनले विश्वास व्यक्त गरे ।
