काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन आयोगले अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको छ ।
आयोगका संयोजक गौरीबहादुर कार्कीसहितको टोलीले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका सदस्य विज्ञानराज शर्माले जसले गल्ती गरेको छ उसलाई कारबाही हुने जानकारी दिए । उनले आन्दोलनको सुरु देखि नै सुरक्षा कमजोरी भएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको र गल्ती गर्नेहरुलाई कारबाहीको सिफारिस गरिएको बताए ।
जेनजी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगको समयावधि सुरुमा ३ महिना थप गरिएकोमा निर्धारित समयमा नसिएपछि पटक–पटक आयोगको म्याद थप गरिएको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेका छन्।
