मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुन तस्करी प्रकण

सुन तस्करी प्रकणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध मुद्धा 

सुन तस्करी प्रकणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध मुद्धा 

महरा र उनका छोरा राहुल भन्ने रेशम महराले भूमिका खेलेको अख्तियारले दाबी गरेको

बिहीबार , चैत २६ २०८२
बिहीबार , चैत २६ २०८२
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ । 

    ७३० थान भेपमा लुकाएर ल्याइएको करिब साढे ८ किलो सुन हिनामिना गरेको आरोपमा अख्तियारले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको छ । २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट चिनियाँ नागरिक लि हाङ सोङले दुई वटा सुटकेशभित्र ७३ काटुनमा रहेको ७३० थान भेप नेपाल ल्याएका थिए । 

    भन्सारको एक्सरे मेसिन जाँच गर्दा तत्कालीन सुरु जाँचकीले ती भेपभित्र पहेलो र कालो रङको संकास्पद धातु देखेपछि उक्त लगेजलाई रेड च्यानलमा पठाएका थिए । तर, रेड च्यानलमा खटिएका प्रमुख भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठसहितका कर्मचारीले तस्करसँगको मिलेमतोमा सुन बरामद गरेनन्। भन्सार ऐनविपरीत ती सामान जाँचपास नगरी अनुकूल समयमा सट्टापट्टा गर्ने नियतले भण्डारण गरिएको थियो।

    पछि प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले ती सामान आफ्नै कार्यकक्षमा राखेर तस्करसँग अस्वाभाविक भेटघाट गरेका थिए। कानुनविपरीत चिनियाँ नागरिक सोङको राहदानीसमेत उनले फिर्ता दिएको अख्तियारको अनुसन्धानले देखाएको छ।

    भन्सार अधिकृत श्रेष्ठले आफ्नो कार्यकक्षमा राखेको सुनसहितको भेप २०७९ माघ २९ गते मुद्दा तथा लिलामी शाखामा पठाएका थिए। त्यसपछि भन्सार गोदाममा सीसीटीभीले नदेख्ने स्थानमा लगेर सक्कली सुन भएको भेप निकालेर नक्कली भेप राखिएको थियो।

    सोही क्रममा सुरक्षा गार्ड निर्मलकुमार विक र नायब सुब्बा मधुसुदन पोखरेलको मिलेमतोमा एउटा भेप फुटाएर कोटेश्वरस्थित सुनचाँदी पसलमा परीक्षण गर्दा ९९.६ प्रतिशत शुद्ध सुन रहेको प्रमाणित भएको थियो।

    कर्मचारीहरूले आफ्नो कसुर लुकाउन सुन निकालिसकिएको नक्कली भेपलाई लिलामी प्रक्रियामा लगेका थिए। लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्का र व्यापारी दिनेश बस्नेतको मिलेमतोमा उक्त नक्कली सामान लिलाम भएको देखाएर घटना सामसुम पार्ने प्रयास भएको थियो।

    यस प्रकरणमा तत्कालीन भन्सार प्रमुख प्रशासक अरुण पोखरेललाई दबाब र प्रभावमा पार्न पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल भन्ने रेशम महराले भूमिका खेलेको अख्तियारले दाबी गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार