काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा ओमानमाथि नेपालले शानदार जित हासिल गरेको छ ।
त्रिवि क्रिक्रकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको शानदार जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रनको योगफल तयार गरेको थियो ।
जवाफी ब्याटिङ थालेको ओमानले ३९.५ ओभरमा अल आउट हुँदै १७५ रन मात्रै जोड्न सक्यो । ओमानका लागि विनय शुक्लाले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै मोहम्मद मिर्जाले ३४ र हस्नइन उल वाहवले २९ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् ।
ओमानलाई सस्तैमा समेट्न नेपालका गुल्सन झाले सर्वाधिक ५ विकेट चट्काए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको नेपालले २५७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ९४ रनको योगदान दिए । त्यस्तै अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र दिपेन्द्रसिंह ऐरीले ३३ र गुल्सन झाले १७ रन जोडे ।
बलिङतर्फ ओमानका नदीम खानले ३ तथा शकिल अहमद र हस्नइन शाहले २–२ विकेट लिए । जितेन रमानन्दी र अर्यान विष्टले एक–एक विकेट लिए । यस अघि भएको खेलमा ओमानले नेपालमाथि १०२ रनको जित निकालेको थियो ।
