काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थमन्त्री उपेन्द्र यादवको प्रधानमन्त्री बन्ने सपना चकनाचुर बनेको छ ।
वर्तमान सत्ता समिकरण फेरबदर गरेर आफू प्रधानमन्त्री बन्ने दौडमा रहेका यादवको आफ्नै पार्टी जसपा फुटेपछि उनको उपप्रधानमन्त्री पद समेत संकटमा रहेको छ । पार्टी अध्यक्ष तथा स्वास्थमन्त्री समेत रहेका यादव विदेश भ्रमणमै रहेको बेला यता पार्टीका अर्का नेता अशोक राईको नेतृत्वमा दलको प्रतिनिधित्व गर्ने २ मन्त्रीसहित ७ जना सांसदले पार्टी फुटाएर नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
जसपाका राईसँगै नवलकिशोर साह सुडी, विरेन्द्र प्रसाद महतो, रञ्जु झा, प्रदीप यादव, हसिना खान र सुशिला श्रेष्ठले दल विभाजन गरेका हुन् । उपेन्द्र यादवले आफु जुन सरकारमा सहभागी छन् । सोही सरकार ढाल्ने उद्देश्यले गतिविधि गरेको भन्दै उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएर पार्टीका नेताहरुले आफूहरुले विद्रोह गरेको दाबी गरेका छन् ।
जसपा विभाजनमा लागेका नेताहरुले उपेन्द्र यादव आफै प्रधानमन्त्री बन्ने गरी वर्तमान गठबन्धन भत्काउन लागेकाले आफूहरुले त्यसलाई रोक्नको लागि यस्तो कदम चाल्नु परेको बताएका छन् । जसपा विभाजनसँगे वैकल्पिक सरकारको सम्भावना टरेको उनीहरुको भनाई छ ।
यता नेपालमा पार्टी विभाजन भैरहँदा जसपा अध्यक्ष उपेन्द्र यादव भने विदेश भ्रमणमा रहेका छन् । अमेरिका र कतार भ्रमणमा रहेका यादव पार्टी विभाजन भएसँगै कतारका कार्यक्रम रद्ध गरी स्वदेश फर्किन लागेको स्रोतको भनाई रहेको छ ।
यादव स्वदेश फर्किदा नफर्किदै उनी पदमुक्त हुने सम्भावना रहेको छ । उनको सट्टा नयाँ दलका सांसदहरुलाई मन्त्री बनाउने सत्ता गठबन्धन दलका नेतृत्वहरुको तयारी रहेको छ । जसपा फुटेर बनेको नयाँ दलको नेतृत्व सांसद समेत रहेका अशोक राईले गरेका छन् ।
सत्ता गठबन्धनमा रहेको जसपा फुटेसँगै राजनीति वृत्तमा खैलाबैला मच्चिएको छ । उता सत्ता गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) ठूलै हलचल उत्पन्न भएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न अर्थमन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुन उनकै निवास डल्लुमा पुगेका छन् । उनीहरुबीच के विषयमा छलफल भैरहेको भन्ने खुलाइएको छैन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका नेता माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले नयाँ सत्ता समिकरण बनाएर आफूहरु पालैपालो प्रधानमन्त्री हुने तयारी गरिरहेको आरोप छ । जसपा विभाजनभए पनि वैकल्पिक सरकार गठनको सम्भावना भने टरेको छ ।
यता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक समेत आह्वान गरेका छन् ।
