एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा निधन भएको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।
इरानको उत्तरपश्चिम क्षेत्रमा आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी, विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान सहित सवार रहेका थिए । उद्धारकर्मीहरु सोमबार बिहान मात्रै घटनास्थल पुगेका हुन् ।
दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा जलेको अवस्थामा फेला परेको थियो । आइतबार दुर्घटनास्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलमा पुग्न निकै कठिनाई भएको थियो ।
उक्त हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्री हियानसहित इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीसहित अन्य व्यक्तिहरु पनि सवार रहेको जनाइएको छ ।
आइतबार राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा एक बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए । राष्ट्रपति रइसीसवार सहित तीन वटा हेलिकप्टरसँगै भएपनि २ वटा हेलिकप्टर सकुशल अवतरण भएका थिए भने राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।
हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको र त्यसपछि हार्ड ल्याण्डिङ समेत गर्नुपरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए ।
