एजेन्सी । इरानका सर्वोच्च नेता अली खामेनीले राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पाँच दिने सार्वजनिक शोकको घोषणा गरेका छन् ।
पाँच दिने सार्वजनिक शोकको घोषणासँगै सर्वाेच्च नेता खामेनीले देशका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेका छन् । “म पाँच दिने सार्वजनिक शोकको घोषणा गर्दछु र इरानका प्रिय जनताप्रति समवेदना प्रकट गर्दछु,” सर्वाेच्च नेता खामेनीले आधिकारिक समाचार एजेन्सी इरनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उपराष्ट्रपति मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएसँगै अब उनले ५० दिन भित्र देशमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्ने हुन्छ । इरानको संविधानको धारा १३१ अनुसार प्रथम उपराष्ट्रपति, संसदका सभामुख र न्यायपालिकाको प्रमुख सम्मिलित परिषद्ले नयाँ राष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउनेछ ।
सर्वाेच्च नेता खामेनीले रइसीलाई लोकप्रिय, सक्षम, मेहनती र अपरिहार्य राष्ट्रपतिको रूपमा वर्णन गर्दै उनी शहीद भएको तीतो समाचार सुन्दा आफू अत्यन्तै दुःखी भएको बताए ।
हेलिकप्टरमा दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री हियान लगायत इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालिक रहमातीसहित हेलिकप्टरमा सवार अन्य सदस्य र चालक दलका सदस्यहरुले पनि ज्यान गुमाए ।
