काठमाडौं । चुरे क्षेत्रको संरक्षणका लागि गत बैशाख १६ गतेदखि सप्तरीदेखि पैदलयात्रा हिडेको ‘चुरे तथा वन जंगल संरक्ष्ण अभियान’ को टोली आज राजधानी काठमाडौंमा आइपुगेको छ ।
चुरे अतिक्रमण र दोहोनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको भन्दै विभिन्न माग राखेर सप्तरीको भारदहदेखि चितवन हुँदै पैदल काठमाडौं आइपुगेका उनीहरुले आजदेखि काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका छन् ।
केही व्यक्तिहरुको प्रत्यक्ष सहभागीतामा सुनियोजित रुपले गैर कानुनी ढंगबाट चुरे तथा वन जंगल विनाश गर्ने कार्य तीव्र गतिमा हुँदै त्यसको मार आफूहरुले खेप्नु परेकोले त्यसलाई रोक्न दबाब स्वरुप चुरे तथा वन जंगल संरक्ष्ण अभियानको टोलीले सप्तरीदेखि राजधानीसम्मको पदयात्रा गरेको हो ।
पैदल यात्रामार्फत काठमाडौंको माइतीघरमा आइपुगेका उनीहरुले माइतीघरमा धर्ना सुरु गरेका छन् । धर्नामा सहभागीहरुले पलास्टीकका बाल्टी, बाटा र टिनको भाडामा चुरे अतिक्रमण बन्द गर, सरकार पानी देउ, पानीको लागि रुख बचाउँ, वनलाई डढेलोमुक्त बनाउ, चुरे र वनको संरक्षण गर लगायतका नारा उल्लेख गरेका छन् ।
अघिल्लो वर्ष पनि यही माग राखेर हिडेर काठमाडौं आएर सरकारसँग सहमति गरेर गएको तर, सरकारले उक्त सहमति पालना नगरेकाले आफूहरु फेरी आन्दोलित हुनुपरेको उनीहरुको भनाई छ ।
