काठमाडौं । टी– २० विश्वकप प्रतियोगितामा सहभागी हुन लागेको नेपाली क्रिकेट टीमको सम्मान र हौसलाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु टिमको जर्सी लगाएर संसद बैठकमा सहभागी भएका छन् ।
आजको संसद बैठकमा टीमको जर्सी लगाएर पुगेका रास्वपा सांसदहरुले नेपाली क्रिकेट टिमको सम्मान र हौसलाका लागि टिमको जर्सी लगाएर आएको प्रतिक्रिया दिएका छन् । उनीहरुले संसद् भवनमा सामूहिक फोटा समेत खिचाएका थिए ।
१० वर्षपछि टी– २० विश्वकप प्रतियोगिता खेल्न लागेको नेपालले आज पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार आज राती ९ः१५ बजे सुरु हुनेछ ।
विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका नेता र सर्वसाधारणहरुले पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् ।
