काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बुधवार बिहान मृत फेला परेका प्रहरी जवान आफैंले आफुलाई गोली हानेको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरी जवान अजितले आज बिहान संसद भवनको दुई नम्बर गेट नजिकै रहेको शौचालयमा गएर आफैंले निधारमा गोली हानेका थिए । प्रहरीका अनुसार अजितको मोबाइल शौचालयको भित्तामा ठाँडो पारेर राखिएको अवस्थामा फेला परेको थियो ।
उनले कसैलाई भिडियो कल गर्दै गर्दा गोली हानेका हुनकी भन्ने आशंका गरिएको र मोबाइल लक भएकाले एकिन जानकारी भने थाहाँ नभएको अनुसन्धानमा सहभागी एक अधिकृतले बताए । उनका अनुसार मोबाइल जाँचका लागि डिजिटल फेरेन्सीक ल्याबमा पठाउने तयारी गरिएको छ ।
दोलखाको मेलुङ गाउँपालिका– ४ स्थायी घर भएका २२ वर्षीय अजित अविवाहित हुन् । यस विषयमा पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट मुचुल्का उठाएर अजितको शव पोष्टमार्टमका लागि त्रिवि शिक्ष्ण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
