काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।
बिहिवार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले धार्मिक गतिविधिका नाममा सम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने, “बहुजतिक, बहुभाषिक, बहुधार्मीक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता एवम् सद्भावलाई संरक्ष्ण एवम् सम्वर्धन गर्न सरकार प्रतिबद्ध छ ।”
संविधान विपरित धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने, साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानून बमोजिम कारबाही हुने उनले स्पष्ट पारे ।
सरकारले गृहमन्त्रालय र मातहत स्थानीय प्रशासन मार्फत धार्मिक तथा सामाजिक सद्भाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिक स्तरमा समेत छलफलका कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
