काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान नगरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजिवी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टीहरुले दशकौको संघर्ष र बलिदानीपछि मुलुकलाई लोकतान्त्रिक र गणतन्त्रको युगमा प्रवेश गराएको बिर्सिएर नयाँ दलहरुले पुराना दलहरुलाई अपमान गरेको बताए ।
पुराना राजनीतिक दलहरुकै कारण आफूहरु अहिले यो अवस्था सम्म आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको भन्दै उनले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्नुपर्ने बताए ।
उनले भने, “नेपालका पार्टी र नेताहरु कोही पनि ठीक छैनन्, त्यसकारण नेपालमा बस्नु भन्दा पनि बाहिर जानुपर्छ भन्ने मनोविज्ञान वा भावना वा त्यसलाई उत्प्रेरित गर्ने कोशिश भैरहेको छ, पार्टीहरुको दशकौंको बलिदान र संघर्ष पनि नेपाललाई लोकतान्त्रिक, गणतन्त्रको युगमा प्रवेश गराएको हो । अहिले केही नयाँ मानिसहरु, हामी नयाँ, हामीले केही गर्छाैं भन्ने ठाउँ दिएको पनि तीनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो ।”
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र एमालेभित्रका समस्याहरु पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको बताए । उनले आफू अहिले जनयुद्धको समय भन्दा पनि धेरै खटिरहेको बताए ।
