जनकपुरधाम । मधेश प्रदेशका पूर्वसांसद कौशाल यादव पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वप्रदेशसभा सांसद यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेशवरी घिमिरेको एकल इजलासले पूर्वप्रदेशसभा सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न र आगजनी मुद्दामा ५ हजार धरौटी माग गरेको हो ।
२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोष्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।
गत शनिबार पूर्वप्रदेशसभा सांसद यादवले चलाएको गाडी महोत्तरीको पोखर भिन्डामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको गाडीसहित भाग्न खोजेका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यादव लामो समयदेखि फारार थिए । सोधपुछको क्रममा प्रहरीको डाटाबेसमा पूर्वप्रदेशसभा सांसद यादवको नाम भेटिएपछि उनलाई अदालतमा पेश गरिएको थियो ।
