काठमाडौं । नेकपा (एमाले) को तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमाले मन्त्रीहरुले हिजो साँझ बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए ।
एमालेबाट सरकारमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुबीर महासेठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षा मन्त्री श्री हरिप्रसाद उप्रेति सहभागी थिए ।
एमाले मन्त्रीहरुले पदबाट राजीनामा दिएसँगै ती मन्त्रालयको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
एमालेले समर्थन फिर्ता लिनुको साथै मन्त्रीहरुले राजीनामा समेत बुझाएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
