काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् ।
महाधिवेशनस्थल कमलादीमा बिहिवार पत्रकारहरुसँग कुरा गर्दै महासचिव भुसालले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट आफूहरु फिर्ता नहुने जानकारी दिए ।
उनले भने, “सरकारलाई दिएको समर्थन जारी रहन्छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नु भएको छ । उहाँले अन्तिमसम्म विश्वासको मत लिनु भयो भने हामी उहाँलाई विश्वासको मत दिन्छौं ।”
उनले पार्टीको नेतृत्व सर्व सहमतिमा टुंग्याउने प्रयास भैरहेको जानकारी दिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको साथै मन्त्रीहरुले समेत राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमिति भएसँगै एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
