काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख चार राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले सोमबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका हुन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा प्रमुख चार दलका शिर्ष नेताहरुसँगै दलका प्रमुख सचेतकहरु पनि सहभागी भएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै निष्पक्ष छानबीनका लागि संसदीय समिति गठनको माग गरिरहेको छ । यस अघिको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले संसदीय छानबीन समिति गठन गर्न अल्टिमेटम नै दिएको थियो ।
प्रतिनिधिसभाको अर्काे बैठक मंगलबारका लागि बोलाइएको छ । त्यस अघि सभामुख घिमिरेले आज प्रतिपक्षी दल कांग्रेससहित चार दलका नेताहरुसँग छलफल गरेका हुन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणमा संसदीय छानबीन समिति गठन गर्नुपर्ने आफ्नो अडानबाट पछि नहट्ने बताएको छ ।
