काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रबार विहान बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
राजनीतिक इमान्दारीताका लागि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले बताए । संसदीय दलले विश्वासको मत दिने निर्णय गरेसँगै रास्वपाले सांसदहरुलाई प्रधाधनमन्त्रीलाई विश्वासको मत दिन ह्वीप समेत जारी गरेको छ ।
सत्ता साझेदार दल नेकपा (एमाले) ले सरकारलाई दिनको समर्थन फिर्ता लिनएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने तयारी गरेसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डसँग माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० गरी जम्मा ६३ मत छ ।
