काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय लोकतन्त्र भएका देशमा प्रमुख प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाएका उदाहरण कमै देखिएको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत लिन प्रस्ताव पेश गर्दै प्रधानमन्त्रीले एउटा विशेष परिस्थितिमा भूकम्पको बेला, संविधान बनाउने बेला मात्र विगतमा त्यसरी मिलेको स्मरण गराए ।
उनले भने, “संसारको अभ्यासले देखाएको छ, पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदा त्यसले लोकतन्त्रमाथि खतरा निम्त्याएको छ ।”
वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लामो संघर्ष र बलिदानबाट नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने प्रयास भैरहेको बताए । यसको हिसाबकिताब नेपाली जनताले गर्ने उनको भनाई रहेको छ ।
