काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिानाले जितेको छ ।
आज बिहान भएको फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गर्दै कोपा अमेरिका २०२४ को उपाधि उचालेको हो । निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो। जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्न सफल भए। उनले खेलको ११२औं मिनेटमा गोल गरेका थिए।
यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो। अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो।
१६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ। अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको छ।
अर्जेन्टिनाले सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।
