काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुनुपर्नेमा संवैधानिक व्यवस्था विपरित प्रधानमन्त्री नियुक्त गरिएको भन्दै सर्वाेच्चमा रिट दर्ता भएको हो । अधिवक्ताहरु खगेन्द्र प्रसाद चाँपागाई, दिपक अधिकारी र शैलेन्द्र कुमार गुप्ताले रिट दायर गरेका हुन् ।
निवेदकहरुले कुन धारा अनुसार सरकार गठनको आह्वान गर्ने भन्ने विषय राष्ट्रपतिको विवेकको विषय नभएर संविधानले नै स्पष्ट गरेको बाध्यात्मक विषय रहेको उनीहरुको दाबी छ । वैधता गुमाइसकेको धाराको प्रयोग गरेर नयाँ सरकार गठनका लागि आह्वान गरिएको उनीहरुको दाबी छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका थिए । प्रचण्ड पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
