काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) की विमला घिमिरे निर्वाचित भएकी छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनिलाई पराजित गर्दै एमालेकी घिमिरे राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बैठकमा उपस्थित ५५ जना सांसद मध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो भने पुडासैनिको पक्षमा १६ मत परेको थियो ।
सत्ता गठबन्धनमा भएको फेरबदलसँगै राष्ट्रिय सभा उपाध्यक्ष एमालेको भागमा परेपछि तत्कालीन उपाध्यक्ष माओवादी केन्द्रकी उर्मिला अर्यालले चैत्र १५ मा राजीनामा दिएपछि सो पद रिक्त थियो ।
सत्ता गठबन्धनको भागबण्डा अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रको भागमा परेपछि माओवादीका नारायण दाहाल अध्यक्ष बनेका थिए । उपाध्यक्ष आफ्नो भागमा परेपछि एमालेबाट विमला घिमिरेलाई अघि सारिएको थियो ।
राष्ट्रिय सभाको बैठक शुक्रबार सम्मको लागि स्थगित गरिएको छ ।
