सुर्खेत । दैलेखको महाबु गाउँपालिका– ३ बाँसीमा खोलाले बगाएर दुई जना किशोरीहरुको ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीया सपना बुढा र १४ वर्षीया भावना बुढा रहेका छन् । उनीहरु बाख्रा चराउन भनेर गोठाला गएका तर दिनमा गर्मी भएपछि छामघाट खोलामा नुहाउन भनेर गएका थिए । मुहानमा पानी परेकाले खोला एक्कासी बढेर आएपछि उनीहरुलाई बगाएको गाउँपालिकाका सूचना अधिकारी अनिल कुमार पाण्डेले बागी पोष्टलाई जानकारी दिए ।
दुवै जना मालिका मावी बाँसीमा कक्षा ९ मा अध्यानरत छात्रा हुन् । सूचना अधिकारी पाण्डेका अनुसार स्थानीयले दुवै जनाको शव फेला पारिसकेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र मुचुल्का पछि सपनाको शव उनको घर लिइसकिएको छ भने भावनाको शव पनि घर ल्याउन थालिएको छ ।
सपनाको शव बासीस्थित जर्जा रहमा र भावनाको शव भैरवी गाउँपालिका– २ स्थित बेडु रहमा स्थानीयहरुले फेला पारेको उनले बताए । दुवै जनाको शव आज घर ल्याएपछि भोली पोष्टमार्टमको लागि जिल्ला अस्पताल दैलेख लगिने सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
