काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने खोजिएको दाबी गरेका छन् ।
शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानको मुलभुत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताए । संसदका दुई ठुला दल मिलेर सरकार गठन गर्ने प्रक्रिया बेठिक भएको भन्दै उनले अहिले दुई दलिय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको बताए ।
जनताको अधिकार रक्षाका लागि आवश्यक परे आफूहरु सडकमा पलेटी कस्न पनि तयार रहेको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधमा नभएको स्पष्ट पारे । संविधान संशोधनको नाममा प्रतिगमनतर्फ लैजाने प्रवृतिको आफूहरुले विरोध गरेको उनको भनाई रहेको छ ।
नेपालको समाजवादको आधारको लागि कम्युनिष्ट पार्टीको एकता प्रक्रिया निरन्तर गर्नुपर्ने भन्दै प्रचण्डले आफूलाई एमालेभित्र रहेका कम्युनिष्ट क्रान्तिकारीहरुको चिन्ता लागेको भन्दै उनीहरुले क्रान्तिकारीहरुलाई एकताबद्ध गर्नको लागि चिन्तन मनन गर्नुपर्ने बताए ।
