काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिए ।
उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । बिहीबार बिहान कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार दुर्घटना घाइते भएका ११ जनाको अस्पताल उपचार भैरहेको छ ।
