काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबीन गर्न तयार रहेको बताएका छन् । रणनीतिक तथा सामाजिक आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, “भ्रष्टाचारसँग जोडिएका विषयको छानबीन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारमाथि कानुनी कारबाही अगाडी बढाउन सरकार प्रतिबद्ध छ । सरकारको प्राथमिकतामा सुशासन, सामाजिक न्याय र समृद्धि रहेका छन् । त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरुप कार्यान्वयनको प्रक्रियामा पनि अगाडी बढीरहेकै छ ।”
भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तीनै तहका सरकार निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवम् आम नागरिक सबैसँग निरन्तर समन्वय, सहयोग र सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ ।
“कानुनको सफल कार्यान्वयनबाट मात्र राज्य व्यवस्था सही ढंगले सञ्चालन हुन्छ । संविधानले अंगीकार गरेका मूल्य मान्यताहरु तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न कानुनहरु निर्माण भएर कार्यान्वयनमा छन् । ती सबै कानुन कार्यान्वयन गर्दै देशलाई सुशासन र समृद्धिको यात्रामा डोहो¥याउन आवश्यक छ,” प्रधानमन्त्री प्रचण्डले भने ।
