नेपालगञ्ज । बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहोलपुर–नेपालगञ्ज सडकखण्डको जानकी गाउँपालिका– ६ ठोरापुरमा बिहिवार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको मृत्यु भएको हो। मृतक ओली बसका यात्रु र भुषाल बसका सह-चालक रहेको बुझिएको छ।
दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले बताए । उनका अनुसार घाइतेहरुको उद्धार गरी नेपालगञ्जको भेरी अस्पतालमा उपचार भैरहेको छ ।
बस चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
