काठमाडौं । टी– २० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङका आयुष शुक्लाले चारै ओभर मेडन फ्याकेका छन् ।
आईसीसी टी– २० विश्वकप २०२६ को एसिया छनोटको शनिबार मंगोलियाविरुद्ध भएको खेलमा हङकङका तीव्र गतिका बलर शुक्लाले चारै ओभर मेडन राखेर एक विकेट लिन सफल भए । यो सँगै आयुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चारै ओभर मेडन राख्ने विश्वकै तेस्रो तथा पहिलो एसियाली खेलाडी बनेका छन् ।
यस अघि क्यानडाका स्पिनर साद बिन जाफरल टी– २० आईमा चारै ओभर मेडन राख्ने पहिलो बलर बनेका थिए । सादले २०२१ मा पानामा विरुद्धको खेलमा यस्तो रेकर्ड बनाएका थिए । गत असारमा भएको आईसीसी टी– २० विश्वकप छनोटमा पपुवा न्यू गिनी विरुद्ध न्युजिल्यान्डका लोकी फर्गुसनले चारै ओभर मेडन राख्न सफल भएका थिए ।
शनिबार भएको खेलमा आयुषले चारै ओभर मेडन राखेको खेलमा मंगोलियाविरुद्ध हङकङ ९ विकेटले विजयी भएको छ ।
१४.२ ओभरमा अलआउट हुँदै मंगोलियाले १७ रन मात्रै बनाएको थियो । जवाफी ब्याटिङ थालेको हङकङले १० बलमा लक्ष्य पूरा गरेको हो ।
