काठमाडौं । आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा सुरु गर्ने गरिन्छ । रथयात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशालामा राखिएको रथलाई तानेर असन पु¥याइन्छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्राको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट सेता मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको मानिन्छ । पानी, सहयात्रा र दीर्घजीवनको कामना गर्दै यो रथ यात्रा निकाल्ने गरिन्छ ।
करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।
