काठमाडौं । ‘हेर्ने कथा’ को हराएका वर्षहरु मार्फत ३५ वर्षपछि आफ्नो गाउँ र परिवार फेला पारेका प्रकाश तामाङ ‘काले’ ले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
भोजपुरको षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालय दिङलाका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारी र जनप्रतिनिधिले उनलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् ।
सरकारी प्रक्रिया अनुसार प्रकाशले ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र पाएका छन् । उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।
‘हेर्ने कथा’ मा हराएका वर्षहरु शिर्षकमा प्रशारण भएको प्रकाशको कथा हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रकाशको नागरिकताको विषयमा चासो दिएका थिए । प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे तत्कालीन गृहसचिव एकनारायण अर्यालसँग समेत छलफल गरेको जानकारी दिएका थिए ।
प्रकाशले नागरिकता प्राप्त गरेपछि अब उनको बैंक खाता खोल्ने तयारी भएको छ । त्यसपछि प्रकाश प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न काठमाण्डौं आउने भएका छन् ।
