काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।
आईसीसी विश्वकप लिग– २ खेल्न जानको लागि अमेरिकाले मंगलबार सन्दीपलाई भिसा उपलब्ध गराएको हो । आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राती क्यानडा उडिसकेको छ । भीसा पाएसँगै सन्दीप पनि क्यानडा उडेका छन् । क्यानडामा लिग– २ खेलिसकेपछि नेपाली टोली अमेरिका जानेछ ।
बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । जिल्लाको अदालतविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गराएका थिए । पुनरावेदनपश्चात् उच्च अदालतले जिल्लाको आदेशलाई बदर गर्दै उनलाई सफाई दिएको थियो ।
बलात्कार मुद्दामा उच्च अदालतबाट सफाई पाएपछि सन्दीप राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए । टी– २० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका जानका लागि भिसा लगाएका सन्दीपलाई त्यतिबेला भने अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । यस पटक भने उनलाई अमेरिकाले भिसा दिएको हो ।
यस अघि २०१९ मा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।
