काठमाडौं । पूर्वप्रधामन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार विरोधी अभियानको सुई बालकोट र बुढानिलकण्ठतिर सोझिएपछि आफू नेतृत्वको सरकार ढलेको बताएका छन् ।
मोरङको ग्रामस्थानमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्तहरु पक्राउ परेपछि सरकार ढलेको दाबी गरे ।
उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्तहरुलाई गिरप्तार गरियो सुशासनको सुई बालकोट र बुढानिलकण्ठतिर सोझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई बालकोट र बुढानिलकण्ठतिर सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो, एउटा डर, एउटा भय उत्पन्न भयो ।”
सत्तारुढ दलहरुलाई दुई तिहाइको अहंकार नदेखाउन आग्रह गर्ने क्रममा बंगलादेश र श्रीलंकाको उदारण दिएको तर कांग्रेस र एमालेका नेताहरुले भने प्रचण्डले बंगलादेश र श्रीलंका बनाइदिन्छु भयो भनेर गलत प्रचार गरेको उनले बताए ।
भ्रष्टाचार विरोधी अभियानको सुई बालकोट र बुढानिलकण्ठतिर सोझिएको भनेर प्रचण्डले क्रमश वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर रहेको ठाउँलाई लक्षित गरेका हुन् ।
