काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरी अर्काे मुद्दा दर्ता भएको छ ।
चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा राईसहित १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । जीबी राईविरुद्ध यस अघि पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा मुद्दा दर्ता भैसकेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा सहकारी ठगी कसुरमा मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाईएकाहरुमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, थानबहादुर बुढामगर, कुमार रम्तेल, भुपेन्द्र राईसहित सहकारी सञ्चालनमा रहेका १७ जना रहेका छन् ।
साहारा सहकारीबाट ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको जनाइएको छ । प्रतिवादीहरु मध्ये सागर केसी र कुमार रम्तेल थुनामै रहेका छन् भने संस्थापक अध्यक्ष जीबी राई भने फरार रहेका छन् ।
राईलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस समेत जारी भैसकेको छ । उनी मलेसियामा रहेको खुले पनि हालसम्म पक्राउ परेका छैनन् । सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धान गर्न बनेको विशेष संसदीय छानबीन समितिले जीबी राई लगायतलाई कारबाही गर्न सिफारिस गरेको छ ।
