काठमाडौं । सहकारीको बचत ठगी आरोपमा फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।
उनी शुक्रबार भारतबाट पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो । उनलाई नेपाल ल्याउने तयारी भैरहेको छ ।
मेयर नेपाली पोखरा र बाग्लुङमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् । उनीमाथि बचतकर्ताको २ अर्ब भन्दा बढी रकम अपचलन गरेको आरोप छ । सहकारीको रकम अपचलनमा अनुसन्धान सुरु भएपछि गत वर्षदेखि मेयर नेपाली फरार थिए ।
उनी लामो समय फरार भएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस समेत जारी भएको थियो । उनी २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए ।
